काठमाडौँ:
विश्वकप छनोट-२०२२ र एसियन कप-२०२३ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल जोर्डनविरुद्ध ३-० गोलअन्तरले पराजित भएको छ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको २४औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत बनाएको अग्रता पहिलो हाफको एकमात्रै गोल रह्यो।

नेपालका रक्षक रोहित चन्दले पेनाल्टी एरियामा जोर्डनका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई बहा फैजल सेफले गोलमा परिणत गर्दै जोर्डनलाई अग्रता दिलाए।

दोस्रो हाफको सुरुवातमै जोर्डनले फ्रिकिकमार्फत अग्रता दोब्बर पार्‍यो। डीबक्सबाहिर जोर्डनका बाहा फैजल सेफले गरेको प्रहार पोस्टको माथिल्लो भाग हुँदै गोलमा परिणत भएको थियो।

यस्तै खेलको ६७औं मिनेटमा जोर्डनका यजन अलबारले हेडरमार्फत तेस्रो गोल गरे।

हारसँगै नेपालको एसियन कप छनोट यात्रा समेत कठिन बनेको छ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अर्को खेलमा जित निकाल्नुपर्नेछ भने अन्य समूहको नतिजा समेत कुर्नुपर्ने हुन्छ।

अर्को खेलमा पनि हार भोगे नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन सक्नेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँगै खेल्दै छनोट यात्रा सक्नेछ।

जितसँगै जोर्डन समुह बी को दोस्रो स्थानमा उक्लेको छ। जोर्डनले ६ खेलबाट १३ अंक बनाएको छ।

शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ। १० अंक भएको कुवेत तेस्रो स्थानमा झरेको छ।

६ अंक भएको नेपाल चौथो स्थानमा यथावत छ। जित विहिन चाइनिज ताइपेइ अंक विहिन पुछारमा छ।

छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version