काठमाडौँ: नेपाल टेलिकमले बुधबार बिहान अप्रत्याशित सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै कम्पनीले कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भएपनि बुधबार अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको जनाएको हो ।

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ ।

सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएका जनाएको छ ।

सो अवधिमा जिएसएम मोबाइलको टूजी, थ्रीजी, फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई मा समस्या नआएको र जिएसएम मोबाइलका केही फिचर फोन (साना नन स्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको उसले जनाएको छ ।

मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिएको थियो ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहन जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version