काठमाडौँ: सत्तारुढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीलाई फुटबाट जोगाउने गरी आज बोलाइएको बैठक एमालेकै नेपाल पक्षले भने बहिष्कार गर्ने भएको छ ।

हिजोको नेपाल समूहको स्थायी कमिटी बैठकले आज बोलाइएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरू सहभागी नहुने नेता रघुजी पन्तले बताए । उनले भने, ‘१०औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो ।’

बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको नेपाल समूहको आरोप छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version