काठमाडौँ: शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

राति १२ बजेदेखि वर्षा भइरहेको जानकारी मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले दिए।

उनका अनुसार यस क्रममा काठमाडौंलगायत देशका विभिन्न स्थानमा भारी वर्षासमेत भइरहेको छ।

‘यो क्रम दिउँसो १ बजेसम्म जारी रहने देखिएको छ,’ मौसमविद् पौडेलले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यसकारण आज निकै सजग हुनुपर्ने अवस्था छ।’

उनका अनुसार दिउँसो १ बजे पछिदेखि वर्षा केही थामिने तर राति पुनः सुरु हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वाुनुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहनाका साथै प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version