काठमाडौँ: नेपाल सरकारले बिस्तारै भारततर्फको खुला सीमालाई नियमन गर्दै जाने गृहसचिव महेश्वर न्यौपानेले बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बिहीबार मेरियट होटलमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा न्यौपानेले नेपाल–भारत खुला सीमालाई व्यवस्थापन गर्नुपर्ने औंल्याए । उनले सीमा क्षेत्रमा एउटा प्रहरी बसेर मात्र सुरक्षा नहुने उल्लेख गर्दै अन्य क्षेत्रको समन्वयमा सीमा सुरक्षा हुने बताए ।

उनले भन्सार, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत निकायहरूबीच समन्वय भएर मात्र सीमा सुरक्षालाई बलियो बनाउन सकिने बताए । उनले सीमा क्षेत्र खुला हुँदा र बन्द हुँदा आ–आफ्नै किसिमका फाइदा र बेफाइदा हुने बताए । कोभिड–१९ पछिको परिस्थितिलाई मूल्यांकन गर्दा अब दुई मुलुकबीचको खुला सीमालाई नियमन गर्दै जाने उल्लेख गरे ।

न्यौपानेले कोभिड–१९ को पहिलो लहर नेपालमा आएपछि भारततर्फको खुला सीमाबाट छिर्ने नागरिकलाई नियमन गर्नका लागि नेपालले सीमा क्षेत्रमा एपीएफका १२ सय २३ युनिटलाई छुट्याएको र त्यसबेला नेपाली सुरक्षाकर्मीले सीमा क्षेत्रमा चीनले नेपालमा भूकम्प जाँदा दिएको टेन्टलाई प्रयोग गरेको बताए । उनले भने, ‘कोभिड–१९ को दौरान भारतीय सीमा क्षेत्रमा एपीएफको अस्थायी युनिट राख्दा भारतीयहरू छक्क परे किनकि एपीएफले प्रयोग गरेको उक्त टेन्टमा चाइना (चीन) लेखिएको थियो,’ उनले भने ।

न्यौपानेले नेपाल–भारत खुला सीमा क्षेत्रमा दुई वर्षभित्रमा ५ सय बोर्डर आउट पोस्ट (बीओपी) पुर्‍याउने लक्ष्य रहेको बताए । उनले भने, ‘नेपाल र भारत खुला सीमामा भारतीय पक्षबाट उसको विभिन्न सीमा सुरक्षा फौज गरी ५ सय वटाभन्दा बढी बीओपी राखेको छ । नेपालले पनि त्यो बराबर राख्नेछ,’ उनले भने । गृह मन्त्रालयका अनुसार अहिले २१७ वटा बीओपी भारतीय सीमा क्षेत्रमा छन् । नेपाल–भारतबीचको सीमा क्षेत्रको लम्बाइ करिब १ हजार ८ सय ८० किमि छ । न्यौपानेले सरकारले सीमा सुरक्षाका लागि एपीएफभित्र छुट्टै डेडिकेटेड फोर्स छुट्याउनुपर्ने बताए । उनले नेपाल–भारतको सीमा क्षेत्रमा दुई मुलुकबीचको सीमा कुन हो भन्ने थाहा पाउनसमेत गाह्रो हुने गरेको बताए ।

उनले सीमा सुरक्षा गर्नका लागि पूर्वाधारको विकास, आर्थिक स्रोत, मानव साधन र प्राविधि महत्त्वपूर्ण रहेको प्रस्ट पारे । ‘बजेटमा पहिले नै सिलिङ तोकिएर आउँछ, कसरी पूर्वाधार निर्माण गर्न सकिन्छ र ?’ उनले भने । उनले नेपालले नयाँ चुच्चे नक्सा निकालेपछि दार्चुला जिल्लाको छाङरुमा एपीएफलाई खटाए पनि बलियो पूर्वाधार नभएको उल्लेख गरे । उनले भने, ‘नेपालको पारीपट्टि भारतीय सुरक्षा फौजको संख्या ठूलो छ र पूर्वाधार पनि छन् । नेपालको त्यस्तो अवस्था छैन ।’

न्यौपानेले दुवै देश मिलेर दशगजाको समस्यालाई समाधान गर्नुपर्ने बताए । ‘पहिलेदेखि नै दशगजामा बस्ती बस्दै आएकाले त्यसलाई उचित स्थानमा स्थानान्तरण गरेपछि मात्र समस्याको समाधान हुन्छ,’ उनले भने, ‘दशगजा खाली गर्ने विषय सहज छैन । दुवै देश मिलेर संवाद गरेर समाधान गर्न सकिन्छ । एक्लै समस्याको समाधान गर्न सकिन्न ।’ न्यौपानेले दार्चुला जिल्लाको सीमा क्षेत्रमा भारतद्वारा भइरहेका गतिविधिलाई रोक्नका लागि कूटनीतिक प्रयासबाट अघि बढ्नुपर्ने बताए । उनले भने, ‘त्यसका लागि सबै निकाय एकजुट भएर अघि बढ्नुपर्छ, कुनै पनि निकायमा कन्फ्युजन हुनु हुँदैन,’ उनले भने ।

कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त रथी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख कार्यकारी निर्देशक बालानन्द शर्माले भारतले खुला सीमा भने पनि आफ्नो क्षेत्रमा कडा सुरक्षा गरेको बताए । ‘भारतले आफ्नो भागमा कडा सुरक्षा गरेको छ भने हामीले हाम्रो क्षेत्रमा किन त्यसैगरी सुरक्षा नगर्ने ?’ उनले भने । ‘खुला सीमा नहुँदा धेरै समस्या हुन्छन् तर खुला हुँदा पनि समस्या हुन्छन् भन्ने थाहा भएको छ,’ उनले भने । उनले पनि खुला सीमालाई बिस्तारै नियमन गर्दै जाने बेला भएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version