काठमाडौँ: नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार लेखेकै कारण पत्रकार बुढाथोकीमाथि ज्यानको असुरक्षा हुने गरी धम्की आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले कानूनी कारबाही गर्न सम्बन्धितसमक्ष माग गरेको छ ।

‘बोटलर्स नेपालको ७३ प्रतिशत शेयर नेपाललाई थाहै नदिई नेपालबाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बुढाथोकीको नाम नै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराउनुका साथै केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराउनुभएको छ,’ महासंघले शनिबार जारी गरेको विज्ञप्ति उल्लेख छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम भएको महासंघको ठहर छ ।

यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ ।

महासंघले भनेको छ, ‘महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version