काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने ।

त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए ।

‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ त्यो रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ ।

बैठकमा वरिष्ठ नेता नेपालले आफूहरू एकताकै पक्षमा रहेको भन्दै केपी अ‍ोलीले जति गाली गरेपनि पार्टी एकताको पक्षबाट नभाग्ने बताएका थिए ।

नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भने, ‘अध्यक्ष ओलीले पार्टी एकताका नाममा अलमल्याउन खोजेको होइन त भन्ने प्रश्न पनि उठेको छ तर हामी एकताको प्रयास गर्छौ ।’ नेता पन्तले बैठकले चारवटा प्रस्ताव पास गरेको जानकारी दिए ।

‘सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलाको स्वागत, १० बुँदे भएको बेला र एकता प्रक्रिया चलेका बेला नेताहरूमाथि लाञ्छना लगाउनु नहुने, १० बुँदे सहमतिले एकताको आधार तयार गरेको र त्यसैका आधारमा थप निर्णय गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ’ नेता पन्तले प्रस्तावबारे जानकारी दिए । त्यस्तै उनले आफ्नो समूह तत्काल सरकारमा नजाने पनि प्रस्ट पारे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version