काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
महासङ्घका अध्यक्ष भवानी राणासहित पदाधिकारी र नेपालका लागि विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिस हादाद जर्भसबीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यतामा सहयोग गर्न विश्व बैङ्कलाई आग्रह गरिन्।
अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडी बढ्नुपर्ने बताइन् ।
नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन् । निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघको देशव्यापी संजाल रहेकोले विश्व बैंक र महासंघ बीच अझ बढी सहकार्यको आवश्यकता रहेको अध्यक्ष राणाले बतईन् ।
सो अवसरमा विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग मिलेर कार्य गर्ने विश्वास ब्यक्त गरे ।
उनले विश्व बैंकको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकोले सहकार्यका लागि सहज हुने समेत बताए । विश्व बैंकद्वारा नेपाल सरकार अर्थ मन्त्रालय समेतको सहभागितामा छिट्टै एक कार्यशाला आयोजना गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा महासंघ लगायत अन्य सरोकारवालाहरूलाई सहभागी गराएर छलफलका माध्यमबाट योजना बनाउने समेत उनले जानकारी गराए ।
