काठमाडौँ: अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्। तीमध्ये ११८ नेपाली र ९ जना भारतीय नागरिक नेपाल उत्रिएका छन् ।

अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरु प्राय अमेरिकी काबुलस्थित मिशनको कार्यालयमा कार्यरत थिए  ।

उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।

उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।

‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं। उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनु पर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ,’ नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले पहिलोक्लिकलाई बताए ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।

‘अमेरिका, बेलायत, जर्मनी, जापान र राष्ट्र संघका विभिन्न मिसनलाई हामीले तपाईंहरूको अफिसमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भने औपचारिक अनुरोध नै पठाएका छौं।

उहाँहरूले सहयोग पनि गर्नुभएको छ। केही नेपाली स्वदेश आइसक्नुभएको छ।’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन्,‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’

सरकार अफगानिस्तानमा भएका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गरिदिन पनि अनुरोध गरेको छ।

यस अघि १२७ नेपाली भएकोमा भुल सुधार गरेका छौँ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version