काठमाडौँ: एमालेबाट विद्रोह गरी आफ्नो अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेका माधव कुमार नेपालले देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने बताएका छन् ।

बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एक अपील जारी गर्दै अध्यक्ष नेपालले आफूहरु राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख नहुने समेत जनाएका हुन् ।

अध्यक्ष नेपालले अपीलमा भनेका छन्, ‘त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिरहन चाहन्छौँ ।

नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ ।’

नेता नेपालले नयाँ पार्टी गठनलाई नेकपा एमाले पुनर्गठन र रुपान्तरणको महाअभियान भनेका छन् ।

 

‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छाैं’ नेपालले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version