काठमाडौँ: औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् ।
माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका हुन् ।
तेस्रो धारका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।
यही समूहमा रहेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी छिन् ।
तेस्रो धारका नेताहरुको बटमलाइन यस्तो छ-
एक– कार्यदलले तयार पारेको १० बुँदे सिफारिस नै एकताको आधार थियो जसलाई नेताहरुले आत्मसात गरेनन् ।
दुई– सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश गलत छ, यो तत्काल फिर्ता लिइनुपर्छ ।
तीन– १४ सांसदलाई पदमुक्त गर्ने ओली पक्षको निर्णय फिर्ता लिइनुपर्छ ।
चार– निर्वाचन आयोगमा अलग दल दर्ताका लागि दिइएको निवेदनबाट माधव नेपाल पक्ष ‘ब्याक’ हुनुपर्छ ।
