काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।

नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी समेत गरे।

उनले माधव नेपालले चालेको स्टेप र लिएका निर्णयका कारण आज संविधान र संसद् बचेको दाबी गरे।

उनले भने,‘यो देशलाई अस्थिरतातर्फ जान नदिनको लागि माधव नेपालले नै निर्णायक भूमिका खेल्नुभएको हो।’

उनले दोस्रो पुस्ताका नेताहरू पनि आगामी बुधबारसम्म आफूहरूको कित्तामा आइसक्ने दाबी गरे।

उनले भने,‘बम, गोला, बारुद पड्किएको बेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाइनमा उभिन तयार हुन्छन्, निष्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरू पनि ५ दिनभित्रै हामीसँग आउनुहुन्छ।’

नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको पनि बताए।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई आग्रह गरे। त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो।

नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे भने वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन दबाब दिए।

उनले आफूहरू पार्टी एकताको पक्षमा उभिएको पनि पटकपटक दोहोर्‍याए।

नेता गैरेले दुई तिहाइ बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version