काठमाडौँ: पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् ।

उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका हुन् ।

वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।

‘हामीले नौ गते अगावै सकेसम्म सवै कुरा टुंग्याउनु पर्छ भनेका छौं’, उपाध्यक्षसमेत रहेका तेस्रो धारका नेता युवराज ज्ञवालीले रातोपाटीसँग भने, ‘अध्यक्ष ओली पक्षका नेताहरुमार्फत हाम्रो कुरा जानकारी गराएका छौं, साथीहरुले भेट्ने समय मिलाउनुभएकाे छ ।’

सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने तेस्रोधारका नेताहरुले बताएपछि ओलीले सोमबार बिहानै नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने ज्ञवालीले बताए ।

तेस्रो धारकै अर्का एक नेताले भने, ‘१० बुँदे न्यूनतम् शर्त हो । त्यो कार्यान्वयन नहुने र त्यसमा छलछाम हुने हो भने हामी जाँदैनौं । हामी केही नपाएर कसैको टाङमुनि छिर्ने भन्ने कुरा हुँदैन ।’

ज्ञवाली भने आफूहरु एकताकै पक्षमा रहेकाले मिलनबिन्दु १० बुँदे हुन सक्ने भन्दै त्यसको अक्षरशः पालना हुनुपर्ने बताउँछन् । माधव नेपाललगायत १४ जनाको कारवाही फिर्ता हुनुपर्ने र अलग दल दर्ताका लागि गरेको प्रयासबाट माधव नेपाल पछाडि हट्नुपर्ने आफूहरुको बटमलाइन भएको ज्ञवालीले बताए ।

माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उक्त निवेदनमा आयोगले आउँदो बुधबार सनाखत गर्न बोलाएको छ । आयोगले त्यसै दिन दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेकाले त्यसअघि नै तेस्रो धारका नेताहरुले ओलीसँग भेटेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version