काठमाडौँ:
नेकपा एमाले नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढेका माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किन अपिल गरेको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्तामा अघि बढेकाहरुलाई फर्किएर आए सम्मानजक भूमिकासहित पुन:स्थापित गरिने निर्णय लिएको हो।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान गरिनु राम्रो हुने पनि बताएका छन्।
‘पार्टी निर्माण र विस्तारका क्रममा एमालेले कयौँ शक्तिसँग एकता गरेको हो’, ज्ञवालीले भने, ‘एमालेको मूलभूत विशेषता नै एकीकृत भएर अघि बढ्ने हो। पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान खोज्ने काम हुने गरेको छ। नयाँ पार्टी दर्ता गर्नेलाई पार्टी एकतामा आवद्ध हुन आजको बैठकले भनेको छ।’
बैठकले पार्टीमा फर्किनेलाई कुनै भेदभाव र कारवाहीसमेत नगरिने पनि बताए। ‘नयाँ पार्टीतिर जान खोज्नु भएका सबै साथीहरु आफ्नै घरमा फर्किनुस्’, उनले भने, ‘माधव नेपाल त एमालेमा बस्दै नबस्ने गरी हिँडिसक्नु भएको छ। बराबरी हैसियतको अध्यक्ष दिन खोज्दा पनि उहाँ तयार हुनु भएन। तर पार्टी एकतामा आउनेलाई स्वागत गरिनेछ। यसअघि कुनै क्रियाकलापालई लिएर भेदभाव गरिने छैन, कारबाही हुने छैन।’
