काठमाडौं: नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ ।

आइतबार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।

योसँगै अर्थमन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ टीमले पूर्णता पाएको हो ।

नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीनजना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।

वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । त्यसक्रममा मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन दिए ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको मर्मअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताए ।

स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए ।

नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version