काठमाडौँ: जनता बैंक नेपाल लिमिटेडले नजिकिंदै गरेको दशैंसम्ममा सबै स्थानीय तहमा आफ्नो सेवा पुग्ने जनाएको छ ।

बैंकलाई तोकिएको स्थानीय तह मध्ये शाखा बिस्तार हुन बाँकी रहेका पाँचवटा स्थानीय तहमा आफ्नो कार्यालय स्थापना गरी आउँदो दशैंसम्म सेवा पुर्याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले पहिलोक्लिकलाई जानकारी दिए ।

शाखा विस्तार हुन बाँकी रहेका हुम्लामा तीन वटा, संखुवासभा र दार्चुलामा एक एक वटा स्थानमा शाखा बिस्तारको काम अघि बढिसकेको तर वर्षाका कारण सामान ढुवानीमा समस्या हुँदा काममा केहि ढिलाई भएको उनको भनाई छ।

“यी पाँच स्थानमा शाखा विस्तार भएपछी हाम्रो भागको स्थानीय तहमा शाखा विस्तारको सबै काम पूरा हुनेछ,” क्षेत्रीले भने ।

हुम्लाका लागि लागिएको सामान अहिले सुर्खेतमा भाडा तिरेर राख्नु परेको छ, हेलिकप्टरहरु पनि अहिले प्राकृतिक प्रकोपका घटनामा ब्यस्त रहेकोले सामान ढुवानी गर्न नसकिएको उनले बताए ।

हाल बैंकले देशभर १२२ वटा शाखाहरुबाट आफ्नो बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।

बैंकका नयाँ कार्यक्रमका बारेको बताउंदै क्षेत्रीले भने यस वर्ष हामी शाखाहरुको सवलिकरणका साथै ग्राहकका चाहना र समय अनुसार नयाँ र परिस्कृत योजना ल्याउन केन्द्रित छौँ ।

“गत वर्ष मर्जर र शाखा विस्तारमा ध्यान दियौं र मर्जरपछि कुनै ठाउँमा शाखाहरुको ‘डुप्लिकेनसन’ भएका छन् तिनीहरुलाई मिलाउने योजना अघि बढाएका छौँ,” उनले भने ।

बैंकले हालै संचालनमा ल्याएको नयाँ योजना ‘मेरो तलव खाता’ र पहिलेदेखि नै संचालनमा रहेको जनता अवकास कोषलाई संयुक्त रुपमा प्रवर्धन गरिरहेको उनले बताए ।

साविकको सिद्धार्थ विकास बैंकद्वारा संचालित अवकास कोषलाई मर्जरपछि ‘जनता अवकास कोष’ मा उपान्तरण गरिएको समेत उनले जानकारी दिए । यस कोषमा नागरिक लागनी कोष र संचय कोषजस्तै अवधारणामा बैंकले आफ्ना कर्मचारीको साथै अन्य संघ संस्थाका कर्मचारीहरुको पनि संचित रकम कोषमा जम्मा गर्ने गर्छ।

हाल यस कोषमा लगभग ४ अर्व रुपैयाँ जम्मा भएको बैंकले जनाएको छ ।

सरकारले हालै सबै श्रमिकहरुको तलव बैंक खातामा जम्मा गर्नु पर्ने योजना लागु गरेपछि यसैलाई प्रवर्धन गर्न ‘मेरो तलव खाता’ योजना ल्याइएको हो, उनले भने । यसमा ७ प्रतिशतको ब्याजदर र ७ लाखसम्मको दूर्घटना बीमाको योजना समेत समेटिएको क्षेत्रीले बताए ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version