काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नभएको बताएको छ । चाडपर्व सुरु भइरहँदा बजारमा चिनी लगायत केही खाद्य बस्तुहरुको अभाव देखिएको भन्दै भ्रम सिर्जना गर्ने दुष्प्रयास भैरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बिभागले हाल बजारमा आगामी तीन महिनासम्मलाई पुग्ने चिनीको स्टक रहेको जानकारी दिएको छ।

बजारमा चिनी र खाद्य बस्तुहरु अभाव भएको भन्ने झुठो र अनर्गल हल्ला चलाइ उपभोक्ताहरुमा भ्रम सृजना भैरहेको भन्दै बजारमा हल्ला चलेजस्तो अभाव नरहेको विभागका प्रवक्ता शिवराज सेढाईले बताए ।

आयात भएको परिमाण र खपत अनुपातका आधारमा अझै बजारमा तीन महिनाभन्दा बढी अवधिलाई पुग्ने चिनी उपलब्ध भएको उनले जानकारी दिए। थप परिमाणको चिनी आयातको प्रक्रियामा रहेको पनि उनको भनाई छ। आयातकर्ताको गोदाम र खुला बजारमा पनि पर्याप्त चिनी बिक्री भएकाले उपभोक्ताले भ्रममा नपर्न समेत सेढाईले आग्रह गरे।

बिक्री वितरणमा सामान्य रहेकोले उपभोक्ताहरु हतास नहुनका पनि उनले अनुरोध गरे। हालको लागि आवश्यक भन्दा बढी संचित गरेर राख्नु पर्ने अवस्था नभएको भन्दै उनले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्ने गरी खरिद गरी भण्डारण नगर्न पनि उनले भनेका छन्।

व्यवसायीहरुले गोदाममा रहेको चिनी र खाद्य बस्तु बजारको मागका आधारमा खुला बजारमा बिक्री वितरण हुने गरी सहज वातावरण मिलाउनुपर्ने बिभागले जनाएको छ। गोदाममा मौज्दात हुँदाहुँदै बजारमा नपठाएर कृतिम अभाव सिर्जना नगर्न र नगराउन भन्दै बिभागले यस्तो अनुचित किसिमका व्यापारिक क्रियाकलाप भएमा ऐन अनुसार सजाय हुने समेत स्पष्ट पारेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version