काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६०.५६ अंक बढेर बन्द भएको नेप्से, यस दिन १४.७० अंक घटेर २५५६.९५ विन्दुमा बन्द भएको छ।

पछिल्ला दुई कारोबार दिनमा १४६.८४ अंक घटेको नेप्से, बुधबार साढे ६० अंक बढेको थियो। बैंकहरुको ब्याजदर घट्ने अपेक्षासहित बजारमा केही सुधार देखिएको थियो। यद्यपि, सो सुधार भने टिक्न सकेन।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ। यस दिन २१६ कम्पनीको ३६ हजार ७६२ पटकको कारोबारमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको ६१ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन बजार ओरालो लागेपनि मेरो माइक्रोफाइनान्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर १६९५.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ५.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर र गुडविल फाइनान्सको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स र महुली लघुवित्तको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने बाँकी २ उपसमूहको परिसूचक मात्र बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३ प्रतिशत बढेको हो भने म्युचुअल फण्ड उपसमूहको ०.४३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक शीर्ष स्थानमा रहेको छ भने माछापुच्छ्रे बैंकले सानिमालाई पछ्याएको छ। यस दिन सानिमा बैंकको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने माछापुच्छ्रे बैंकको साढे ११ करोडको शेयर कारोबार भएको छ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण यस दिन यी बैंकहरुको कारोबार बढेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version