काठमाडौं: नेपाल टेलिकमले सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबर लिंक स्थापना गरेको छ। लिंक स्थापना भएसँगै त्यहाँका सेवाग्राहीहरुले दिगो रुपमा दूरसंचार सेवा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ।

टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकसँग जोडेको हो जसका कारण सेवाको गुणस्तरमा थप वृद्धि हुने अपेक्षा टेलिकमको छ। समुद्री सतहबाट तीन हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई कात्तिक ११ गते १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडेको टेलिकमले जनाएको छ।

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा लामो समयदेखि त्यहाँका सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति एवम् गुणस्तरको सेवा उपलब्ध हुन सकेको थिएन। नयाँ अप्टिकल फाइबर लिंक संचालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमले जनाएको छ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुने दाबी टेलिकमको छ। यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदानमा सहजता आउने टेलिकमको आकलन छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version