काठमाडौँ: तिहारअघिको अन्तिम दिनको शेयर कारोबार हरियो भएर बन्द भएको छ । बुधबार नेप्से सुरुवातदेखि नै बढेपछि तीव्र बिक्री चापको दबाब परेकाे थियाे । साढे २ बजेको समयमा बजार ऋणात्मक भएपनि अन्तिम समयमा आएर ५.२२ अंकले बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से बढेर २८४८ दशमलव ८४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३० दशमलव ८९ बिन्दुमा पुगेको हो ।
दिनभरमा कूल २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर ६१ ह्जार ७४५ वटा कारोबारमा खरिद बिक्री भएका छन् । उक्त शेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रूपैयाँ खरिद बिक्री भएको नेप्सेले जनाएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहका सूचक घटेको छ भने बाँकी ८ वटाको बढेको छ ।
यसदिन नबिल बैंक लिमिटेडको सर्वाधिक १ अर्ब १७ करोड ९७ लाख ८६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । बैंकले गत आवको नाफाबाट ३८ प्रतिशत ( चुक्ता पूँजीको ३३.६० बोनस र ४.४० नगद ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । आकर्षक लाभांश कुल कारोबारको १७.८६ प्रतिशत कारोबार नबिल बैंकको मात्र भएको छ ।

