काठमाडौँ: नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्पर्धी बनाउन संघले पहलकदमी गर्ने बताएका छन्।
संघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष उपाध्यायले नयाँ कमिटीले अहिलेको बैकिङ क्षेत्रको समस्या समाधानमा काम गर्ने बताए।
३५ औं साधारणसभाबाट अध्यक्ष चयन भएका अध्यक्ष उपाध्यायले विगतको केही अवधिमा बैंकहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको बताए।
‘चुनौतीहरूलाई व्यवस्थापन गर्ने अवसर पाएका छौं,’ उपाध्यायले भने, ‘कोभिडबाट बैंक, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशल व्यवस्थापन गर्न सक्षम भयौँ। यसमा राष्ट्र बैंकको भूमिका ठूलो छ र यसबीच उत्साहित ग्रोथ पनि भयो।’
