काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने उद्घोष गरेकी छिन् ।
नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताईन ।
सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक भइसकेको उनको भनाइ थियो ।
सहकारीमार्फत हिमाल, पहाड, तराईमा पाइलट प्रोजेक्ट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘सयौं विगाह जग्गा लिजमा लिएर सहकारीमार्फत सामूहिक खेति गरेर उत्पादन बढाउन सकिन्छ’ उनले भनिन् ।
राष्ट्रिय उत्पादनमा सहकारीको बलियो उपस्थिति भएमात्र सहकारी तीन खम्बे अर्थतन्त्रमा बलियो खम्बा बन्न सक्ने उनको भनाई थियो । ‘गरिव परिचयपत्र बाडेर मात्र हुदैँन, उनीहरुलाई रोजगारीमा सामेल बनाउन सरकार प्रतिवद्व छ’ उनले भनिन् । परिचयपत्रका आधारमा उनीहरुको आयस्तर बढाउन सरकारले पहल गर्ने उनको भनाई थियो ।
भूमि जटिलता बढ्दै गएको भन्दै मन्त्री अर्यालले वैज्ञानिक ढंगले समाधान गर्दै खेर गइरहेको उर्वर भूमिलाई उत्पादनमा लगाइने बताईन ।
‘सुकुम्बासी, गुठी समस्या समाधान गरी संमृद्विको आधार निर्माण गर्न सकिन्छ’ उहाँले भन्नुभयो । सहकारीले निम्नस्तरका सदस्यको जीवनस्तर उकास्नतर्फ केन्द्रीत हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको आवरणमा गलत काम गर्ने कसैलाई छुट नभएको बताए ।
‘सहकारीमा आएर सिद्वान्त, मूल्य, मान्यताभन्दा विपरित जान कसैलाई छुट छैन’ उहाँले भन्नुभयो । प्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने भन्दै बडालले सञ्चार र सहकारीको समन्वय आवश्यक भएको बताउनुभयो । सहकारीले उद्यमशीलता विस्तार गर्न आवश्यक भएको उनको भनाई थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले सहकारीलाई उत्पादनशील क्षेत्रमा लाग्न कानुनी जटिलता रहेको बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केवी उप्रेतीले सहकारी उत्पादनशील क्षेत्रमा जान आवश्यक भएको बताए । ‘हामी उत्पादनशील क्षेत्रमा लगानीमा प्राथमिकता दिइरहेका छौं’ उनले भने ।
