काठमाडौँ: एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णु प्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले झुटो जालसाँजी रचेर आफूलाई अन्यायमा पारिएको दावी गरेका छन् ।

हिजो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धितालले एनसीसी बैंकका संस्थापकद्वय जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफुलाई फसाएको स्पष्ट पारेका हुन् ।

उनले भने,‘मलाई एनसीसी बैंकका केही सिमित व्यक्तिको स्वार्थका कारण फसाइयो, मेरा बारेमा जतिपनि समाचार आए ती सबै सूचनाहरु एकतर्फी थिए, सिआईबीले जे भन्यो त्यहीमात्रै लेखियो, मेरो बारेमा मिडियाबाट कोही पनि साथीहरु जान्नसमेत आएनन्, मलाई ४ महिनाको अन्तरालमा विभिन्न झुठा मुद्दा लगाएर दुःख दिने काम गरियो, जेलभित्र गोली ठोक्छु भन्नेसम्मको धम्की दिइयो, लोकतन्त्रमा अन्याय हुँदैन भन्ने बुझेको थिएँ तर हुँदोरहेछ । मैले आफैले अनुभव गरें । म त लोकतन्त्रको लागि लडेर आएको व्यक्ति हुँ । लोकतन्त्र ल्याउनको लागि मेरो पनि ठूलो लगानी छ ।’

राज्यले आफूलाई आतंककारीको शैलीमा अपहरण गरेको सुनाउँदै उनले भने, ‘बोर्डको बैठकबाटै मलाई अनुशन्धानको नाममा ४ महिना जेलमा राख्ने काम भयो, मेरोमात्रै नभएर सिंगो काँग्रेसको समेत बद्नाम गराउनेगरि गलत हल्ला फैलाइयो, मुटुको शल्यक्रिया गरेको स्थितिमा पनि अस्पतालमा जान दिइएन, प्रधानमन्त्री र अख्तियारले नछोड्नु भनेको भन्दै विभिन्न बहाना बनाएर अनुसन्धानको नाममा मलाई दुःख र यातना दिने काम भयो, म निरंकुशताको बिरुद्धमा जेलजीवन भोगेको मानिस हुँ, मैले गल्ती गरेको छै्न, यस्ता अन्यायपूर्ण कदमकाबिरुद्ध निरन्तर लडिरहनेछु ।’

रारा विकास बैंक, रोयल मर्जेन्ट फाईनान्स र अपि फाईनान्सबीचको मर्जपछि बनेको एनसीसी बैंक मिलेर एपेक्स डेभलपमेन्ट बैंक निर्माण भएको बताउँदै धितालले आफूलाई षड्यन्त्रपूर्वक तरिकाले फसाईएको बताए ।

उनले भने,‘तत्कालिन् गभर्नर तथा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाका निरन्तरको प्रयासपछि बनेको एपेक्स डेभलपमेन्ट बैंकमा पहिलेनै केही समस्याहरु रहेका थिए, रोयल मर्चेन्ट त संकटग्रस्तनै थियो, हुँदै नभएका र तथ्यहीन कुराहरुलाई आधार बनाएर मलाई अनावश्यक दुःख दिने काम भयो, म अध्यक्ष नहुँदैका समस्याहरु र म आउँदा पछि पनि ब्याज र ऋण भुक्तानीको लागि अन्य बाटो हुँदाहुँदै पनि ममाथि पूर्वाग्रही रुपमा राष्ट्र बैंक प्रस्तुत भएको छ, अन्य केही बैंकलेपनि ब्याज र लोन उठाउन बाँकी हुँदापनि अरुलाई कुनै अनुसन्धान नगर्नु र मलाईमात्रै यसरी खेद्नुले प्रशासन र राष्ट्र बैंकमाथि शंका उत्पन्न गर्ने तमाम ठाउँहरु छन् ।’

धितालले २०५४ सालदेखि विद्युतीय सफा टेम्पु सञ्चालन गरेर बैंकमा सुरक्षित लगानी गर्नुपर्छ भन्ने मान्यताकासाथ आफू बैंकमा आकर्षित बनेको बताउँदै भने,‘२०६१ सालमा रारा विकास बैंक स्थापना हुँदा २५ लाख लगानी गरेको थिएँ, त्यसपछि विस्तारै बैंक मर्ज हुनेसम्म पुगियो, एनसीसीका संस्थापक सञ्चालकहरु जित बहादुर श्रेष्ठ र लक्ष्मि बहादुर श्रेष्ठले बैंक मर्ज गराएको झोंकमा राष्ट्र बैंक र सरकारका केही व्यक्तिहरुलाई गलत प्रभावमा पारि मलाई फसाएका हुन, आजकै मितिबाट सञ्चालकमा नरहनेगरि राजिनामा दिएको जानकारी गराउँदछु ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version