काठमाडौं: लगातार बढेको सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। ६ महिनापछि फेरि तोलाको एक लाखनजिक पुगेको हो।

आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी भएको हो। गत साताको अन्तिम दिनका तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य लगातार बढेको छ। गत वैशाखमा सुनको कारोबार मूल्य तोलाको लाख नाघेको थियो। तोलाको १ लाख २ हजार ५ सयसम्म पुगेर क्रमिक घटेको मूल्य पुनः लाखनजिक पुगेको हो।

चालु महिना सुनको मूल्य तोलाको ९६ हजार ८ सयभन्दा तल गएको थिएन। सुरुवातमा ९८ हजार रुपैयाँ थियो। गत साताबाट मूल्य क्रमिक उकालो लागेको छ।

यस्तै अवस्था चाँदीको मूल्यमा पनि छ। सुनसँगै महँगिएको चाँदी सोमबार प्रतितोला १३ सय ८५ भएको छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ बढेको हो। गत साताको अन्तिम दिनका तुलनामा २५ रुपैयाँ बढेर आइतबार १३ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेर कारोबार भइरहेको छ। सुन प्रतिऔंस १८०८.४६ डलर पुगेको छ। यसअघि गत शुक्रबार प्रतिऔंस १७७९.७९ डलरमा कारोबार भएको सुन आइतबार बढेर १७९८.०३ डलर भएको थियो।

चाँदी पनि बढेर २३.७६ डलर प्रतिऔंस भएको छ। शुक्रबार २२.६७ डलरमा कारोबार भएको थियो भने इतबार बढेर २३.१६ डलर भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version