काठमाडौँ: यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको सबै १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले ५७ सिटसहित अग्रता लिएको छ। नेकपा एमालेले ४४ सिटमा जित निकालेर दोस्रो भएको छ।

यस्तै १८ सिट जितेको माओवादी केन्द्र तेस्रो र १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टी चौथो भएका छन्।

यता समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ। जसअनुसार मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ। १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ अर्थात २५.६५ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० अर्थात ११.११ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ अर्थात १०.७३ प्रतिशत मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ अर्थात ५.६० प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ अर्थात ४.०२ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ अर्थात ३.७७ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० अर्थात २.८८ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ अर्थात २.५० प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ।

Facebook Comments Box
Share.

Leave A Reply

Exit mobile version