काठमाडौँ: नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गृहकार्य भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी पार्टी एकताका विषयमा कुराकानी गरेका थिए।

भेटमा दुई पार्टीबीच एकता, पुस २६ मा सरकारलाई विश्वासको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए।

माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी भइरहेको छ। गत मंसिरको चुनावमा नेपाल समाजवादीका उम्मेदवारहरू पनि माओवादी केन्द्रको चुनाव चिन्ह लिई उठेका थिए। समानुपातिकतर्फ उम्मेदवार पनि माओवादीकै बन्दसूचीमा समावेश गरिएको थियो।

नेपाल समाजवादी र माओवादीबीच कार्यदल बनाएर पार्टी एकता छिट्टै गर्ने समझदारीसमेत बनेको छ। यी दुई पार्टी एक भएमा प्रचण्ड र बाबुराम पुन: एकै पार्टीमा हुनेछन्। बाबुरामले ७ वर्षअघि माओवादी छाडेका थिए।

माओवादीले वाम एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ।

नेपाल समाजवादीले आइतबार बस्ने बैठकबाट वार्ता टोली गठन गर्ने तयारी गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version