काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो।
यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ।
निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो ।

