काठमाडौँ: नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमति सकारात्मक भएको बताएको छ ।

अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमती सकारात्मक भएको परिसंघले जनाएको छ ।

परिसंघद्वारा जारि विज्ञप्तीमा भनिएको छ, “अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदर लगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा ब्याजदर घटाउने निर्णयले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास छ ।”

निक्षेपको ब्याजदर घटेसँगै बैंकको लागत घट्ने र यसले आधारदर र कर्जाको ब्याजदर पनि घटाउने परिसंघको बुझाई छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने बताइएको छ ।

उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने उसको भनाई छ ।

नेपाल उद्योग परिसंघले धेरै अघिदेखि नै निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको थियो । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेकाले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको उसले बताएको छ ।

नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत उद्योग क्षेत्रमा जाने कर्जाको आधारदरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version