काठमाडौँ: धितोपत्र दलाल व्यवसायीहरु सनी सेक्यूरिटिज कम्पनी लिमिटेड, इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालि र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड कारवाहीमा परेका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा विवरण पेश नगर्ने तीन धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली बमोजिम नियामक निकाय नेपाल धितोपत्र बोर्डले नगद जरीवाना गरेको जनाएको छ ।

बोर्डका सहायक प्रवक्ता तेज प्रसाद देवकोटाले इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालि र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेडलाई ७५ हजार रुपैयाँका दरले तथा सनी सेक्यूरिटिजलाई १० हजार रुपैयाँ नगद जरिवाना गरिएको जानकारी दिए ।

धितोपत्र दलाल व्यवसायीहरु ब्रोकर नम्बर २९, त्रिशुल सेक्यूरिटिज र ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्यूरिटिजले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) उलङ्घन गरेको जनाएको छ । सो व्यवस्था अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन तोकिएको समयभित्र बोर्डमा पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येक धितोपत्र दलाल व्यवसायीहरुलाई ७५ हजार रुपैयाँका दरले जरिवाना गरेको हो ।

यस्तै ब्रोकर नम्बर ४२, सनी सेक्यूरिटिज कम्पनी लिमिटेडलाई बोर्डले १० हजार जरिवाना गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र उक्त ब्रोकर कम्पनीले वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले जरिवाना गरिएको बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम उक्त ब्रोकर कम्पनीलाई जरीवाना लगाइएको बोर्डले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version