काठमाडौँ: प्रतिनिधिसभाको उपसभामुखमा दुईजना महिला सांसद भिड्ने भएका छन्।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सत्ता साझेदार दलबाट इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमाले नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्।

उनको उम्मेदवारीमा रास्वपा सांसद सोविता गौतम प्रस्तावक बसेकी छन्। यसअघि सोबिता उपसभामुखको उम्मेदवार बन्ने चर्चा थियो।

तर रास्वपा सभापति रवि लामिछानेले रानामगरलाई उपसभामुखमा उठाउने निर्णय लिए। उनलाई सत्ता साझेदार दलका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन्।

चर्चित सामाजिक अभियन्तासमेत रहेकी राना मगर शनिबार हुने उपसभामुखको निर्वाचनमा निर्वाचित हुने करिब निश्चित जस्तै छ।

अर्कातिर नेपाली कांग्रेसकी समानुपातिक सांसद मुक्ताकुमारी यादवले पनि बिहीबारै दिउँसो उपसभामुखमा उम्मेदवारी दिउकी छन्।

पार्टीका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डेको प्रस्तावमा उनले उपसभामुखका लागि उम्मेदवारी दिएकी हुन्।

यादवको उम्मेदवारीमा प्रतिनिधिसभा सदस्यद्वय नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का सवेन्द्रनाथ शुक्ल समर्थक छन्।

उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुने भएको छ। सभामुखका नेकपा एमालेका सांसद देवराज घिमिरे विजयी भइसकेका छन्।

बिहीबार भएको निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भए। उनी झापा २ बाट निर्वाचित भएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version