काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय गरेको छ।
आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
नेपाली कांग्रेसमा एक नेताका अनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ ।
यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।
सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।

