काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्।

सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए।

सम्मेलनमा डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो। जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो। ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ।’

ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताउँदै उनले निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र नभई विदेशमा विद्युत निर्यात गर्न थालेको उल्लेख गरे।

यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा. महतको भनाइ थियो।

मन्त्री डा. महतले भने, ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु। लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ। सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ। लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं। निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको छ। नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो।’

उनले भने सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने बताए।

मन्त्री महतका अनुसार विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो। बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिनेछ।

विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको बताए।

‘उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु’, मन्त्री महतले भने।

विद्युतीय खपतमा पनि त्यत्तिकै ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। यसका लागि यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताउँदै उनले घरायसी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने उपाय सुझाए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version