काठमाडौँ: अहिले जे छ सानु भण्डारीकै डायरीमै छ। भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा ललितपुरका सानु भण्डारी अहिले प्रहरीको हिरासतमा छन् ।
प्रहरीले अहिले उनै भण्डारीको डायरीमा लेखिएको प्रमाणको आधारमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई करिव ६० लाख रुपियाँ दिएको प्रमाण र उसले आफ्नो बयानमा प्रहरीलाई दिएका छन् । भण्डारीले रायमाझीलाई मामा भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले खुलाएको छ।
२०७९ चैत १२ मा पक्राउ परेका भण्डारीको डायरीको रेकर्डको आधारमा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर अनुसन्धानमा तानिएका हुन् ।
रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड सानु भण्डारीको डायरीमा भेटिएको छ । सन्दीपलाई बुटवलबाट पक्राउ गरेर प्रहरीले अदालतबाट ३ दिने म्याद लिएर अनुसन्धान गरिरहेको छ । यस्तै टोपबहादुरमाथि पनि अनुसन्धान भइरहेको छ ।
‘ठगीमा संलग्न आरोपी सानुको डायरीमा टोपबहादुरले नगद लिएको रेकर्ड फेला परेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले पहिलोक्लिकलाई बताए, ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन रायमाझीलाई झन्डै ६० लाख रुपियाँ दिएको भण्डारीले बयानमा खुलाएका छन् ।’
डायरी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रायमाझी र अर्का आरोपी सागर राईबीच पनि सम्पर्क स्थापित हुने प्रमाण प्रहरीले भेट्टाएको छ । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० का पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।
करिब ४५ जनासँग सागरले अमेरिका पठाउने नाममा रकम लिएको भेटिएको छ । तीमध्ये ३२ जनाबाट उनले नगद लिएको प्रमाणबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । उठाएको मध्येबाट केही नगद टोपबहादुर रायमाझीलाई दिएको सागरले बयानमा जिकिर गरेका छन् ।
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

