काठमाडौँ: आज (बुधबार) संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक बस्दै छ।

सभामुख देवराज घिमिरेका अनुसार संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

उक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ।

यसैबीच सरकारको नीति तथा कार्यक्रमबारेको छलफल आज पनि जारी रहने भएको छ।

त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सीमाको विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् । भारतले मिचेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेकोमा सरकार स्पष्ट रहेको उनले बताएका हुन् । परराष्ट्र नीति संचालनमा पनि सरकारको धारणा स्पष्ट रहेको उनले बताए ।

‘परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने कुरामा सरकार विश्वास राख्दछ । राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सीमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र प्रतिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ ।’

सीमासम्बन्धी विषयलाई तथ्यका आधारमा समाधान गर्नुपर्ने विषय सरकारको प्राथमिकतामा रहने पनि प्रधानमन्त्रीको भनाइ थियो । ‘थाती रहेका सीमासम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी पनि माननीय सदस्यहरूलाई गराउन चाहन्छु,’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version