काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
गृहमन्त्री श्रेष्ठले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे । विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको उनले बताए । संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने उनले विश्वास व्यक्त गरे ।
यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताउनुभएको छ।
प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो- ‘जनताको सेवा गर्न सीपसहित आफुलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’
गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए। आफ्नै आवश्यकता आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर सामुन्द्रीक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो। नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।
समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभएअनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुनेगर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन्। यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ।
समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो। डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए। उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’ समेत गर्नुभएको थियो।
समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपत् जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारी, इच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दानबहादुर गुरुङ समेत सहभागी हुनुहुन्थ्यो।
उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दार सम्बन्धि सामाग्रीहरूको समेत निरीक्षण गर्नुभएको थियो।

