काठमाडौँ: चालु आर्थिक वर्षको बैशाखसम्ममा विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेको छ । आयातमा आएको कमी र रेमिट्यान्स आप्रबाह बढेपछि विदेशी मुद्राको सञ्चिति बढेको हो ।

विदेशी मुद्रा सञ्चितिमा दबाब परेपनि गत पुषसम्म सरकारले सिमति बस्तुहरुको आयात रोकेको थियो । सरकारले आयातमा गरेको नियन्त्रण तथा उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा आएको सुस्तताले विदेशी विनियम सञ्चिति बढाउन मद्दत गरेको हो ।

त्यसका साथै बैंक वित्तीय संस्थामा तरलताको कमी र बढ्दो ब्याजदरले कर्जा लगानीमा भएको नियन्त्रणले पनि आर्थिक गतिविधिमा सुस्तता ल्याउन मद्दत गरेपछि आयातमा कमी आएको हो ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० बैंशाखसम्म २०.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ ।

२०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version