काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा सदस्यबाहेक सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै गणेश कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनको प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेको छ। उनी निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन गएका थिए। अदालतमा मुद्दा पनि हाल्ने र उम्मेदवारी पनि दर्ता गरेपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

मल्लले इप्पान, इप्पानका अध्यक्ष, महासचिव र निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उनले आफूले मनोनय दर्ता समेत गर्न नपाएको भन्दै रिट दायर गरेका हुन्। मंगलबार उनले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि अदालतमा रिट हालेका कारण अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले अन्तरिम आदेश दिन नमानेपछि निर्वाचित समितिले कार्कीको प्यानललाई सदस्यबाहेक निर्विरोध निर्वाचित गरेको छ।

वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। उनी अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्नेछन्। उपाध्यक्षमा भरतबहादुर खत्री, उत्तम ब्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग, आनन्द चौधरी निर्वाचित भएका छन्।

महासचिवमा बलराम खतिवडा निर्वाचित भएका छन्। उपमहासचिवमा प्रकाशभन्द्र दुलाल निर्वाचित भएका छन्। सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट, हिमप्रसाद पाठक निर्वाचित भएका छन्। कोषाध्यक्षमा नरेन्द्र बल्ल निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुको भने निर्वाचन हुनेछ। सात सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशी निर्वाचित भएका छन्। बिहीबार सदस्यहरुको निर्वाचन हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version