काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्।

घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन सक्दैन भने ।

उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।”

उहाँले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने जनाउनुभयो । कञ्चनपुरमा गत साउन १० गते निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो । निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताए । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version