काठमाडौँ :राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप छ खर्ब रुपैयाँ लाग्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा तीन खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताए । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएको छ ।

विसं २०७३ वैशाखमा तयार पारिएको विपद्पश्चात्को पुनः लाभ कार्य ढाँचामा पुनःनिर्माणका लागि रु नौ खर्ब ३८ अर्ब लाग्ने आँकलन गरिएको थियो ।

नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायले प्रतिबद्धता जनाएको कूल रु चार खर्ब १० अर्बमध्ये रु ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई रु तीन खर्ब ४३ अर्ब बाँकी रहेकामा त्यसमध्ये रु दुई खर्ब ६२ अर्बको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनःनिर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकामा प्रशंसा गर्दै सो खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । छलफलमा एशिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ, प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेसहित शाखा प्रमुख उपस्थित थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version