काठमाडौँ: राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई नियमविपरीत १२ जना कर्मचारी भर्ना गरेको भन्दै कारबाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

गत साता सतर्कता केन्द्रले मन्त्रालयलाई पत्र पठाउँदै कार्यकारी अध्यक्ष सुवेदीसहित नियुक्ति दिने प्रक्रियामा संलग्न कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई र प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललाई प्रचलित नियमअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

कार्यकारी अध्यक्ष सुवेदीसहितले आफ्नो कार्यकालमा गोरखापत्र संस्थानका विभिन्न पदमा १२ जना कर्मचारीलाई संस्थानको विनियमावली विपरीत टिप्पणी आदेशको भरमा नियुक्त गरेको पाइएको केन्द्रले पठाएको पत्रमा उल्लेख छ ।

नियमविपरीत नियुक्त भएका दिनेश लुइँटेल, विनोद न्यौपाने, सूर्यप्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोकबहादुर कटुवाल, सिर्जना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, रविराज बराल, युवराज खतिवडा, ध्रुवकुमार सिंहको नियुक्त खारेज गर्न पनि केन्द्रले निर्देशन दिएको छ । सुवेदीको कार्यकालमा उनीहरूलाई पाँच, छ र सातौं तहको नियुक्ति दिइएको थियो ।

केन्द्रले निर्देशनको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version