काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड पीडित संघर्ष समितिका मागहरू तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव अर्जुन भण्डारीले वार्ता संवादका माध्यमबाट तत्काल माग सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिएका छन्।

साथै, आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता संवादमा आउन समेत आग्रह गरिएको छ।

‘संघर्ष समितिका मागहरु सम्बन्धमा वार्ता सम्वादका माध्ययमबाट तत्काल समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूवाट निर्देशन समेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता सम्वादमा आउन हार्दिक अनुरोध छ,’ सहसचिव भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए।

फोरम र माओवादीले एकै स्थानमा सभा गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो।

त्यसमा मारिएकाहरूको आफन्तका तर्फबाट न्याय माग गर्दै त्रिभुवन साहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा पनि प्रहरीले सुनुवाइ नगरेको पीडित परिवारका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो।

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गर्दै आन्दोन गरिरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version