काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् ।

मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।

मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने तापनि अझै नपठाएको उनले बताए । ‘‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं’’ उहाँले भन्नुभयो,‘‘तर अहिलेसम्म १५ जिल्लाका विवरण मात्र प्राप्त भएको छ ।’’

उनका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौैँ, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची, लमजुङ, मनाङ, सङ्खुवासभा, सिन्धुली, जाजरकोट र धादिङ जिल्लाका ९६ स्थानीय तहका ११२ जना जनप्रतिनिधि रिक्त रहेका छन् । तीमध्ये धेरैजसो जिल्ला समन्वय समितिमा निर्वाचित भएर रिक्त रहेको शाखा अधिकृत जोशीले बताए ।

निधन भएरपनि केहि जनप्रतिनिधिको पद रिक्त भएका छन् । उनले रिक्त जनप्रतिनिधिमध्ये उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष मात्र निर्वाचन हुने जानकारी गराए ।

वडा सदस्यको हकमा भने निर्वाचन नहुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता महेन्द्रनाथ भट्टराईले मन्त्रालयले रिक्त रहेको विवरण पठाए र सरकारले निर्वाचन घोषणा गरेपछि उपनिर्वाचन गर्न तयार रहेको बताए ।

‘‘हामीसँग निर्वाचनका सबै सामग्री तयारी अवस्थामा छन्’’ उनले भने, ‘‘सरकारले घोषणा गर्नासाथ उपनिर्वाचन गर्न तयार छौ ।’’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version