काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेको विभागको भनाइ छ । दैनिक जनजीवन, जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क रहन आग्रह गरेको छ ।

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानभन्दा उत्तरतिर रहेको छ । यसका साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version