काठमाडौँ: आगामी मंसिरमा काठमाडौंमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी हुने भएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्ज सेन्टरको संयुक्त आयोजनामा मंसिर ५ देखि १० गतेसम्म भृकुटीमण्डमा प्रदर्शनी आयोजना गरिने छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ अनुसार प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसियाली मुलुकको सहभागिता हुने छ ।

सामाजिक रूपान्तणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसिया क्षेत्रका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता हुने महासंघकका महासचिव शिवसागर शर्माले जानकारी दिए ।

चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथिका रुपमा आमन्त्रणसमेत गरिएको उनले बताए ।

प्रदर्शनीमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुस्तकहरूको १८० भन्दा धेरै स्टल हुने उनले बताए । प्रदर्शनीमा भारतका ४५ र चिनियाँ ३५ स्टल रहने छन् ।

प्रदर्शनीले पुस्तक, प्रकाशक, पाठकलाई एकै मञ्चमा ल्याउने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरू पनि आदाप्रदान हुने आयोजकले विश्वास लिएको छ ।

प्रदर्शनीको अवलोकन करिब २५ लाख जनाले गर्ने आयोजकको अनुमान छ ।

“करिब दुई दशकअघिसम्म विदेशी लेखकद्वारा लेखिएर विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी आज हामी देशको एक आत्मनिर्भर पुस्तक व्यवसायको रुपमा बिकास भएका छौ,” उनले भने ।

प्रदर्शनी राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूका लागि उपयुक्त सल्लाह, सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्थाहरू, सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक, विद्यार्थी, अभिभावक एवं आम पाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको एक सङ्गम स्थल बन्ने आयोजकको विश्वास छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version