होलसेलमा ६० को माल खुद्रामा आइपुग्दा ८० पुर्याइयो
काठमाडौँ: भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ ।
भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो । यो समाचार आज कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।
तर नेपालमा बिचौलियाले मूल्य बढाउन थालिसकेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्ने तत्त्व सलबलाउन थालेको सरोकारवाला बताउँछन् । भारतबाट आयातै नगरिएको प्याजको मूल्यसमेत व्यापारीले बढाएका छन् । ‘शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो, खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ चलेको थियो ।
आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ परेको छ, खुद्रामा बिक्री गर्दा ९० देखि एक सय रुपैयाँ पुगेको छ,’ एक खुद्रा व्यापारीले भने, ‘मूल्य किन बढ्यो, जानकार छैनौं । होलसेलमा बढेपछि हामीले पनि बढाएका छौं ।’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा प्याजको मूल्य ३ दिनदेखि स्थिर छ ।
समितिले आइतबार प्रतिकिलो ६० देखि ६२ रुपैयाँ तोकेको छ । व्यापारीले भने मनोमानी रूपमा मूल्य बढाउन थालेका हुन् । ‘स्वदेशमा उत्पादन पर्याप्त नहुँदा कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि कर लागू गरे पनि शनिबार भन्सार बन्द भएकाले आइतबार त्यति आएन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘अबको दुई–तीन दिनमा मूल्य सामान्य बढ्छ ।’
समितिमा भित्रिने तरकारीले उपत्यकाको करिब ६० देखि ७० प्रतिशत माग धान्छ । कालीमाटीमा दैनिक औसत १०० टन प्याज भित्रिन्छ । शनिबार कार्यालय बन्द हुँदा भन्सार हुने भएन । आइतबार करिब ४० टन भित्रिएको छ । आइतबार कम परिमाणमा भित्रिए पनि व्यापारीहरूसँग प्याज मौज्दात नै छ । तर, भारतले निर्यात कर लगाएको चर्चासँगै यहाँ तत्काल मूल्यवृद्धि गरेर कालोबजारी गरिएको हो ।
भारतले अपनाएको कर नीतिले नेपालमा महँगी बढाए पनि आजको भोलि मूल्य बढ्नु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । भारतले प्याजमा लगाएको कर नीतिले नजिकिँदै गरेका चाडबाडलाई प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ । बजारमा देखिने यस्तो तत्त्व र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नियामक निकाय तत्काल सक्रिय हुनुपर्ने उनले बताए ।
‘प्रतिकिलो ७० रुपैयाँ पर्ने प्याज बिचौलियाले अस्वाभाविक रूपमा बढाएको विगतकै नजिर छ । अहिले फेरि त्यही हविगत देखियो । खुला बजारका नाममा कालोबजारी हुँदा सरकार बेखबर बनेको छ,’ उनले भने, ‘भारतले आफ्नो आवश्यकतालाई दृष्टिगत गर्दै निकासी नियन्त्रण गरेको छ । तर नेपालले अपुग वस्तु अभाव हुन नदिन कुनै कदम चालेन । बजार मूल्य नियन्त्रण गर्न तत्काल हस्तक्षेप नगरे चाडबाडमा धेरै समस्या हुन्छ ।’ नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ ।
त्यसलगत्तै बजार भाउ अकासिएको थियो । भ्याट लगाएलगत्तै भ्याट खारेजको माग गर्दै केही व्यापारीले प्याज ल्याएनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका थिए । आयातमै निर्भर प्याजको मूल्य मनोमानी असुल्न थालेका थिए । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो ।
महँगी बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही गोदाममा छापा मारेको थियो । कारबाही गर्ने बताएपछि मूल्यमा केही सुधार भएको पनि थियो । भारतको ४० प्रतिशत निर्यात करले बजार मूल्यमा थप असर पुगेको छ । अभावमा मौका छोप्ने व्यापारीलाई फाइदा पुग्ने जानकार बताउँछन् । ‘कतिपय व्यापारीले अभावको मौका छोपेका छन्, भारतले लगाएको निर्यात करले ती व्यवसायीलाई दसैं आएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘भारतबाट नआए पनि बजारमा मूल्य बढ्नु त्यसैको उदाहरण हो ।’
बजार अनुगमन गर्ने दर्जनौं निकाय भए पनि अनुगमन हुन नसकेको उनको दाबी छ । भारतले लगाएको निर्यात कर र त्यसले पार्न सक्ने मूल्यवृद्धिको अध्ययन गरिने वाणिज्य विभागका प्रबक्ता होमनाथ भट्टराईले बताए । बिचौलियाले थप बढाउन सक्ने मूल्यप्रति विभाग सचेत रहने पनि उनको भनाइ छ ।
नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । ती क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यहाँ वार्षिक करिब ३ लाख टन उत्पादन हुन्छ । बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको छ । नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले भने भारतले लगाएको निर्यात करले त्यति प्रभाव नपर्ने दाबी गरे ।
४० प्रतिशत कर लगाएको हिसाब गर्ने हो भने प्रतिकिलोमा १३ रुपैयाँ मात्र बढ्ने उनले जनाए । ‘भारतले निर्यात कर लगाएपछि भारतमा सस्तो पर्छ, त्यहाँ सस्तो हुँदा आयात पनि सस्तो नै हुन्छ,’ उनले भने, ‘खुला सीमाका कारण भारतले निर्यात बन्देज गर्दा पनि समस्या हुँदैन । साइकल, तस्करीलगायत माध्यमबाट आएकै हुन्छ । त्यस कारण मूल्यमा त्यति प्रभाव पर्दैन ।’

