काठमाडौँ: पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्य सचिव डा. मिलन कुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको हो।

अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

उनले स्टोरकिपर पदमा कार्यरत रही कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारीविपरीत जलहरीका लागि प्रयोग गरेको सुन हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ।

जलहरी राख्ने क्रममा कोषका तत्कालीन सदस्य सचिव डा. ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्य सचिव डा. थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ्ग जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनाधिकृत रुपमा प्रयोग गरेको बयान उनीहरुले नै दिएको अख्तियारले जनाएको छ।

सुनको जलहरी निर्माणका क्रममा हानिनोक्सानी भएको १४ सय ९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने एक करोड सत्र लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको ठहर पनि अख्तियारले गरेको छ।

उक्त काममा ढकाल र डा. थापाको प्रत्यक्ष भूमिका रहेको पुष्टि अनुसन्धानले गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।

अख्तियारले बिगोका रुपमा उनीहरुले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७ माघ २९ गते खरिद गरेको ६४ केजी १६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी त्यस दिनको प्रतिग्रामको ७ हजार ८४४.५० को दरले १४ सय ९१.७१८ ग्राम सुनको पर्न मूल्य एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा हिनामिना गरेको ठहर गरेको छ।

उनीहरु दुवैजनाविद्ध एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम मुद्दा चलाइएको हो।

त्यसैगरी स्टोर किपर श्रेष्ठलाई पनि अख्तियारले ढकाल र थापाविरुद्ध मागिएको एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैयाँ ८५ पैसा नै बिगोसहित मुद्दा चलाएको हो।

श्रेष्ठले राष्ट्र बैंकबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरुबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पार्दशीरुपमा दुरुस्त राख्नु पर्नेमा त्यस्तो नगरेको अख्तियारले जनाएको छ।

सुनको जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २०७७ फागुन २० गते डा. मिलन कुमार थापाको मिलेमतो योजनामा रिङ्ग बनाउने भनी कोषको आधारिकारिक निर्णय तथा मुचुल्काबिना प्रयोग गरेर हिनामिना गरिएको अख्तियारले जनाएको छ।

सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुवे सिफ्टको कार्यटोलीमा खटिइएको जिम्मेवार व्यक्तिले २०७७ फागुन २० गते कोषको आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यहरुलाई समेत तत्कालै जानकारी नदिई बिना नापतौल तथा मुचुल्का गैरजिम्मेवारी तवरले आफनो जिम्मामा रुद्रगाडेश्वर ज्यासलस्थित सेफमा बाँकी रहेको सुन रिङ्ग बनाउने भनी कोषका तत्कालीन कोषाध्यक्ष डा. थापाले निर्देशन दिँदा पनि श्रेष्ठले प्रतिवाद नगरेको अख्तियारले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version