काठमाडौँ: आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

मनसुन बहिर्गमनमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो।

नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र (मौसमी प्रणाली)को प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।

आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार ‍पछिल्लो १ घन्टामा मुलुका कुनै पनि स्थानमा पानी परेको छैन। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै मौसममा सुधार हुँदै आइरहेको छ।

‘ उपत्यकामा दिउँसो ‍छिटफुट वर्षाको सम्भावना छ तर हिजो अस्तिजस्तो ठूलो पानी पर्ने देखिँदैन,’ उनले भने।

काठमाडौं उपत्यकामा केही दिनयताको झरीले चिसो महसुश गरिएको थियो। अब मौसममा सुधार हुने भएकाले तापक्रम पनि बढ्ने मौसमविद् झाले जानकारी दिए।

अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाको प्रक्षेपण छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको पनि मौसमविद् झाले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version