काठमाडौं: लुम्बिनी केबलकार लिमिटेडले दसैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। आइतबारदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ।।

अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। नेपालीहरुका महान चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने उनले बताए।

चाडपर्वमा सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीको विश्वास छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको कुल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।

टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ।

उक्त रकम दुई पालिकाले ५०/५० प्रतिशतका दरले बाँडफाँट गर्ने गरी सम्झौता भएको छ। टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्‍वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने तयारी गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version