काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापानमा सहभागी भएका छन् ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए ।
यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी भएका थिए ।
एमालेले पार्टीका कार्यकर्ताका लागि साढे १२ बजे र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि साढे २ बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

