काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) दुबई जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)मा सहभागी हुन बुधबार दुबई प्रस्थान गर्ने भएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार बुधबार बेलुका ९ बजे फ्लाइटमार्फत् दुबई प्रस्थान गर्ने छन् । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ ।
भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । उनले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने जनाइएको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रचण्ड सहभागी हुनेछन् । शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दी माउन्टेनस् हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । साथै, प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायसँग छुट्टै अन्तक्र्रिया गर्ने छन् ।

